सगरमाथा आधार शिविर पग्लिँदै: मानिसको पिसाब मुख्य कारण
- १६ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- सगरमाथाको आधार शिविरमा हिउँ पग्लिने क्रम तीव्र बनेको छ। यसको एउटा अनौठो कारण त्यहाँ जाने मानिसहरूले गर्ने पिसाब भएको एक नयाँ अध्ययनले देखाएको छ।
अध्ययनका अनुसार, आधार शिविरमा बस्ने आरोही र सहयोगीहरूले पानी धेरै पिउने भएकाले उनीहरूले दैनिक ६ हजार लिटरभन्दा बढी पिसाब गर्छन्। दिसालाई भाँडोमा जम्मा गरेर तल ल्याइने भए पनि धेरैजसो पिसाब त्यहीँको हिमनदीमा फालिन्छ। अनुसन्धानकर्ताहरूले बताएअनुसार मानिसको तातो पिसाबकै कारण एक याममा करिब १५४ टन हिउँ पग्लिने गर्छ।
यसका साथै, शिविरमा खाना पकाउन र आगो ताप्न प्रयोग हुने ग्यास तथा मट्टितेलको तापले पनि हिउँ पगालिरहेको छ। यी सबै तापले गर्दा एक वर्षमा करिब २ हजार ५०० टन हिउँ पग्लिने गरेको तथ्यांक छ।
भू-उपग्रहबाट लिइएको तस्बिर र तथ्यांक हेर्दा पनि आधार शिविरको तापक्रम हरेक वर्ष बढिरहेको देखिएको छ। जलवायु परिवर्तन हिउँ पग्लिनुको मुख्य कारण भए पनि हजारौँ मानिसको भीड र उनीहरूका गतिविधिले खुम्बु हिमनदी अझ छिटो पग्लिएको अनुसन्धानकर्ताहरूले बताए। हिउँ छिटो पग्लिन थालेपछि अब भविष्यमा आधार शिविरलाई हिमनदीबाट हटाएर नजिकैको सुरक्षित र बलियो जमिनमा सार्नुपर्ने उनीहरूले बताएका छन्।