१९ भदौ २०८३, शुक्रबार
4 September 2026, Friday

त्रिशूली–३ ‘ए’ को सुरुङ खोल्दै सेना, भित्र पसेर माटो निकाल्ने काम जारी

त्रिशूली–३ ‘ए’ को सुरुङ खोल्दै सेना, भित्र पसेर माटो निकाल्ने काम जारी

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा पुर्‍याएको क्षतिपछि अहिले त्यहाँको सुरुङ (केबल डक्ट टनेल) खुलाउने काम भइरहेको छ। बाढीले सुरुङ पुरिएपछि भित्र मानिस फसेको आशङ्कामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र प्राविधिकसहित ९३ जनाको टोली उद्धारमा खटिएको छ।

सुरुङको मुखमा बाढीले बगाएर ल्याएका ठूला ढुङ्गा र फलामसहितको विशाल थुप्रो छ। निरन्तरको प्रयासपछि टोलीले माथिल्लो भागमा करिब १० फिट लामो र ४ फिट अग्लो मुख खोलेको छ। अहिले सेना सोही प्वालबाट भित्र पसेर लेदो सोहोर्ने र पानी बाहिर फाल्ने काम गरिरहेको छ।

आयोजना स्थलमै रहेका सांसद श्रीराम न्यौपानेले मेसिन छिराउन सुरुङको पूरै मुख खोल्नुपर्ने भएकाले बाहिरको माटो पन्छाउने काम निरन्तर भइरहेको बताए। बाटो छेकेका ७ वटा ठूला ढुङ्गालाई विष्फोट गरेर फुटाउने तयारी पनि भइरहेको छ।

यो सुरुङ करिब १७० मिटर लामो छ। सुरुङभित्र भरिएको माटो र लेदो पूर्ण रूपमा हटाएर बाटो खुलाएपछि मात्रै पावरहाउस लगायतका अन्य संरचनासम्म पुग्न सकिने सेनाले जनाएको छ। अहिले ५ वटा एक्स्क्याभेटर र अन्य मेसिनको प्रयोग गरेर काम तीव्र पारिएको छ।