भोटेकोशी बाढी: नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको ओइरो
- १८ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि नेपाललाई विभिन्न देशबाट सहयोग आउने क्रम जारी छ। बाढी आएकै दिनदेखि अन्तर्राष्ट्रिय समुदायले राहत तथा आर्थिक सहयोग उपलब्ध गराइरहेका छन्।
छिमेकी देश भारतले हालसम्म ५ चरणमा ७४ टन राहत सामग्री र उद्धारका लागि विज्ञ टोली पठाएको छ। चीनले ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री दिएको छ। साथै, नेपालले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलीब्रिज सहयोग मागेको छ।
खाडी मुलुक युएईले ८३ टन राहत सामग्रीसहित एक करोड डलर सहयोगको घोषणा गरेको छ भने कतारले ४० टन राहत पठाएको छ। पाकिस्तानबाट ८६ टन राहत आउँदैछ। श्रीलङ्काले १० लाख डलर दिने बताएको छ भने बङ्गलादेशले पनि सहयोग पठाउने तयारी गरेको छ।
अमेरिकाले ५ लाख डलर र अष्ट्रेलियाले १० लाख डलर नगदसहित विशेषज्ञ र ड्रोन अपरेटरको टोली पठाउने घोषणा गरेका छन्। बेलायतले ५० लाख पाउन्ड, युरोपेली सङ्घले २० लाख युरो र जर्मनीले २० लाख डलर सहयोग गर्ने भएका छन्।
यसैगरी स्विट्जरल्याण्ड, डेनमार्क, आयरल्याण्ड, नर्वे र चेक रिपब्लिकले पनि नगद सहयोगको घोषणा गरेका छन्। फ्रान्सले प्रभावित क्षेत्रका २०० घरपरिवारलाई राहत सामग्री दिएको छ भने लक्जेम्बर्ग र लातभियाले पनि आवश्यक सामग्री उपलब्ध गराएका छन्।