२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

अमेरिकामा दादुराको प्रकोप तीव्र: सङ्क्रमित सङ्ख्या ३ हजार नाघ्यो

अमेरिकामा दादुराको प्रकोप तीव्र: सङ्क्रमित सङ्ख्या ३ हजार नाघ्यो

न्युयोर्क- अमेरिकामा यस वर्ष दादुरा रोगका सङ्क्रमितको सङ्ख्या ३ हजार नाघेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बिहीबारसम्म देशभर ३ हजार १३४ जनामा दादुरा पुष्टि भएको हो। यो सन् १९९१ पछिकै सबैभन्दा उच्च सङ्क्रमण हो। गत वर्ष जम्मा २ हजार २८९ जनामा मात्र दादुरा देखिएको थियो।

सङ्क्रमितमध्ये अधिकांश अमेरिकाका ४७ वटा राज्यका हुन् भने १६ जना बाहिरबाट आएका व्यक्ति छन्। बिरामी परेकामध्ये २४८ जना अस्पताल भर्ना भएका छन्।

केन्द्रका अनुसार दादुरा पुष्टि भएकामध्ये करिब ९४ प्रतिशतले खोप लगाएका छैनन्। पछिल्लो समय अमेरिकामा बालबालिकाले खोप लगाउने दर पनि घट्दै गएको छ। सुरक्षित रहन समुदायका कम्तीमा ९५ प्रतिशत मानिसले खोप लगाउनुपर्ने भए पनि हाल अमेरिकामा यो दर घटेर ९२.४ प्रतिशतमा झरेको छ। झन्डै २ लाख ८० हजार बालबालिकासँग खोप लगाएको पूरा अभिलेख नै नभएको केन्द्रले बताएको छ।