२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

बाढीपीडितलाई सुरक्षित स्थानमा नयाँ बस्ती बसाल्न राष्ट्रपति पौडेलको आग्रह

बाढीपीडितलाई सुरक्षित स्थानमा नयाँ बस्ती बसाल्न राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्दै पीडितहरूलाई सुरक्षित ठाउँमा पुनरुत्थान गर्न आग्रह गरेका छन्। बाढीको अवस्था बुझ्न नुवाकोट पुगेका उनले खोज तथा उद्धारको काम सन्तोषजनक रहेको भन्दै अब राहत र होल्डिङ सेन्टरको समय घटाएर सुरक्षित पुनर्वासतर्फ लाग्न सुझाव दिए।

विदुरस्थित सैन्य तालिम केन्द्रमा जनप्रतिनिधि र सरोकारवालासँग भएको छलफलमा राष्ट्रपति पौडेलले बाढी आउने खतरा अझै रहेकाले प्रभावित क्षेत्रमा फेरि बस्ती बसाल्न नहुने बताए। उनले सुरक्षित जग्गा खोजेर जतिसक्दो चाँडो पीडितलाई नयाँ घरमा सार्नुपर्नेमा जोड दिए।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले नुवाकोटका चार पालिकाबाट २ हजार ६ सय ७३ जना बेपत्ता भएको निवेदन परिवारबाट आएको जानकारी गराए। त्यस्तै विदुरका नगरप्रमुख राजन श्रेष्ठले बाढी र हिलोले पुरेका घरहरूको खोजी भइरहेको, सडक खुलाउने प्रयास जारी रहेको र बगेका पुलहरूको ठाउँमा बेलीब्रिज राखेर आवतजावत सहज बनाउन लागिपरेको बताए।

छलफलपछि राष्ट्रपति पौडेलले विदुर नगरपालिका-२ बट्टारस्थित कभर्ड हलमा रहेको होल्डिङ सेन्टरको अनुगमन गरेका थिए। त्यहाँ उनले रसुवा र नुवाकोटबाट विस्थापित भएर बसेका पीडितहरूसँग प्रत्यक्ष भेटेर उनीहरूको समस्या र गुनासो सुने।