३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मा सरकारले लिने

भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मा सरकारले लिने

काठमाडौं- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले गर्ने बताएकी छन्। राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा सन्देश जारी गर्दै उनले बालबालिकाको उद्धार, उपचार र परिवारसँगको पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्।

मन्त्री वादीका अनुसार विशेष संरक्षण चाहिने बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिकास्थित थेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। यस केन्द्रमार्फत बालबालिकालाई आवास, खानपिन, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र परिवारको खोजीलगायतका सेवा दिइनेछ। बाढी प्रभावित क्षेत्रमा बालबालिकाको अवस्था बुझ्न र आवश्यक सहयोग गर्न सहजीकरण टोली खटाइएको पनि उनले जानकारी दिइन्।

विपद्मा परेका कुनै पनि बालबालिकाले आफूलाई एक्लो र असुरक्षित महसुस गर्नु नपर्ने उनले प्रतिबद्धता जनाइन्। बालबालिकालाई हिंसा र दुर्व्यवहारबाट जोगाउनु सबैको साझा दायित्व भएको उनको भनाइ छ।

यस वर्षको बाल दिवसको नारा ‘बालपनको रक्षा, भविष्यको सुरक्षा’ रहेको छ। मन्त्री वादीले बालबालिकालाई कुनै समस्या वा जोखिम परेमा चुप नबसी निःशुल्क बाल हेल्पलाइन १०९८ वा बालबालिका खोजतलास केन्द्र १०४ मा सम्पर्क गर्न आग्रह गरिन्।