नेपालमा सत्ता पल्टाउन अमेरिकाद्वारा युवालाई गोप्य लगानी र तालिम दिएको खुलासा
- ३० भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- सन् २०२५ को सेप्टेम्बरमा नेपालमा भएको आन्दोलन र सत्ता परिवर्तनमा अमेरिकी सरकारको हात रहेको खुलासा भएको छ। ‘द ग्रेजोन’ ले सार्वजनिक गरेको गोप्य कागजातअनुसार अमेरिकाले नेपालका युवा समूहलाई आन्दोलन गर्न र तत्कालीन सरकार ढाल्न गोप्य रूपमा लाखौं डलर लगानी गरेको थियो।
अमेरिकाको ‘नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसी’ (एनईडी) र यसको शाखा ‘इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट’ (आईआरआई) मार्फत यो अभियान चलाइएको थियो। नेपालमा चीन र भारतको प्रभाव कम गरी आफ्नो ‘इन्डो–प्यासिफिक’ रणनीति लागू गर्न अमेरिकाले युवालाई प्रयोग गरेको कागजातमा उल्लेख छ।
रिपोर्टका अनुसार सन् २०२१ देखि २०२२ सम्म ‘युवा नेतृत्व: पारदर्शी नीति’ नामक कार्यक्रम चलाइएको थियो। करिब साढे ३ लाख डलर खर्च गरिएको यस कार्यक्रममा दर्जनौं नेपाली युवालाई सडक प्रदर्शन, राजनीतिक दबाब र सामाजिक सञ्जालको प्रयोगबारे विस्तृत तालिम दिइएको थियो। उनीहरूलाई अमेरिकी स्वार्थ अनुकूलका मुद्दामा वकालत गर्न सिकाइएको थियो।
सन् २०२५ मा सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि यी तालिमप्राप्त युवाले आन्दोलन चर्काएका थिए। हिंसात्मक बनेको उक्त आन्दोलनमा प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो। आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि सञ्जालको गोप्य मतदानबाट नयाँ नेतृत्व चयन गरिएको थियो।
आन्दोलनले राजनीतिक शून्यता ल्याएपछि राजतन्त्र फर्काउने शक्तिहरू सलबलाएको पनि रिपोर्टमा दाबी गरिएको छ। सरकारी कार्यालय र संसदमा आक्रमण भए पनि सेना र पूर्वराजाको निवासलाई सुरक्षित राखिएको यो आन्दोलनले अमेरिकालाई नेपालमा आफ्नो अनुकूलको नेतृत्व स्थापित गर्न बाटो खुला गरिदिएको निष्कर्ष निकालिएको छ।