३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

बाढीले बिगारेका १२ झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालन गरिने

बाढीले बिगारेका १२ झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालन गरिने

काठमाडौं- बाढीका कारण क्षति पुगेका विभिन्न क्षेत्रका १२ वटा झोलुङ्गे पुलको मर्मत कार्य सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङ, नुवाकोट र गोरखा जोड्ने यी पुलहरूलाई आगामी असोज २० गतेभित्रै पुनः सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ।

धादिङका कालिकास्थान, मालिङ्गा, मझुवाटार दोभान, महादेवा मास्टर, चिरौँदी खोला, शीतलबजार क्युरेनीटार र बेल्खु भुतियाका पुलहरू मर्मत भइरहेका छन्। यस्तै नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत भइरहेको छ।

मन्त्रालयका अनुसार बाढीले असर पारेका अन्य थप आठ वटा पुल मर्मतका लागि प्राविधिक तयारी अघि बढाइएको छ। पहिलो चरणका निर्माण सामग्री कार्यस्थलमा पुगिसकेका छन् भने बाँकी आवश्यक सामग्री जुटाउने प्रक्रिया सुरु गरिएको छ।

यसैगरी सो क्षेत्रमा पूर्ण रूपमा भत्किएका ३३ वटा झोलुङ्गे पुल नयाँ बनाउन सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ। लठ्ठा लगायत आवश्यक सामग्री खरिद गरेर पुल निर्माणलाई अघि बढाउने तयारी छ।