३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

पाँचौँ तीज म्युजिक अवार्ड सम्पन्न : भुवनलाई उत्कृष्ट मोडलको उपाधि

पाँचौँ तीज म्युजिक अवार्ड सम्पन्न : भुवनलाई उत्कृष्ट मोडलको उपाधि

काठमाडौं- काठमाडौंको बानेश्वरस्थित क्रिस्टल पार्टी भवनमा ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ को पाँचौँ संस्करण भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सप्तरीका भुवन के. पोखरेलले उत्कृष्ट तीज गीत भिडियो मोडल (पुरुष) को उपाधि जितेका छन् भने महिलातर्फ नारायणी खत्री उत्कृष्ट मोडल घोषित भइन्।

समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिला तथा स्रष्टाहरूलाई सम्मान गरिएको छ। गायिका यशोदा पराजुली र टिका पुनले ‘नेपाल कलाकार नारी रत्न सम्मान’ पाए। त्यसैगरी, साहित्यतर्फ कमला रिसाल, चलचित्रतर्फ न्यान्सी खड्का र कला पत्रकारितामा सोझना लोहोर सम्मानित भए। फेसन डिजाइनर काजल शर्मा, गायिका शीतल शर्मा, अनिता कुँवरलगायत अन्य थुप्रै स्रष्टाहरूले पनि विभिन्न विधामा सम्मान पाएका छन्।

अवार्डतर्फ उत्कृष्ट तीज गीत गायिकाको उपाधि चाँदनी शाहीले जितिन्। मौलिक तीज गीतमा सरिता घिमिरे र विपिन किरणले अवार्ड हात पारे। आशा बुढाले गीतबाट ‘जनमत अवार्ड’ जितिन्। कार्यक्रममा उत्कृष्ट नृत्य निर्देशक जेरी भण्डारी, भिडियो निर्देशक निशान बानियाँ र संगीत संयोजकतर्फ कृष्ण केसीले अवार्ड पाएका छन्।

अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलको सभापतित्व र वरिष्ठ गायिका मीरा राणाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। सेसेमी लिम्बूले सञ्चालन गरेको कार्यक्रममा प्रीति आले र खुमन अधिकारीले सांगीतिक प्रस्तुति दिएका थिए। तीजको मौलिक परम्परा र नेपाली संगीतको प्रवर्द्धन गर्न यो अवार्ड आयोजना गरिएको आयोजकले बताए।