३ अशोज २०८३, शनिबार
19 September 2026, Saturday

ट्रम्पद्वारा तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा रोक, प्रेस स्वतन्त्रताबारे बहस

ट्रम्पद्वारा तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा रोक, प्रेस स्वतन्त्रताबारे बहस

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन ठूला सञ्चारमाध्यमका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्। आफूविरुद्ध तथ्यहीन सामग्री सम्प्रेषण गरेको आरोप लगाउँदै उनले सिएनएन, एमएस नाउ र पोलिटिकोमाथि प्रतिबन्ध लगाएका हुन्।

सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले आगामी दिनमा अन्य सञ्चारमाध्यममाथि पनि यस्तै कदम चाल्न सकिने चेतावनी दिएका छन्। ओभल अफिसमा कुरा गर्दै उनले विगत केही वर्षदेखि प्रकाशित समाचारहरूको समग्र प्रभावका आधारमा यस्तो निर्णयमा पुगेको बताए।

यता सिएनएन र पोलिटिकोले ट्रम्पको घोषणाप्रति कडा आपत्ति जनाएका छन्। उनीहरूले आफ्ना पत्रकारहरूले निष्पक्ष रूपमा काम गरिरहेको उल्लेख गर्दै सरकारी हस्तक्षेपबिना समाचार संकलन गर्न पाउने संवैधानिक अधिकारको रक्षा गर्ने बताएका छन्। ह्वाइट हाउस संवाददाता संघले पनि समाचारको विषयलाई लिएर पत्रकारको पहुँच रोक्न नहुने स्पष्ट पारेको छ।

ट्रम्पको यो कदमसँगै अमेरिकी संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकारबारे नयाँ कानुनी बहस सुरु भएको छ। यसअघि उनको पहिलो कार्यकालमा पनि पत्रकारको प्रवेश रोक्ने विषय अदालतसम्म पुगेको थियो। यो पछिल्लो प्रतिबन्ध कहिलेदेखि र कुन रूपमा पूर्ण लागू हुन्छ भन्ने चाहिँ अझै स्पष्ट भइसकेको छैन।