संविधान दिवसमा अमेरिकाको शुभकामना, भोटेकोसी बाढीपीडितलाई सहयोग गर्ने प्रतिबद्धता
- ०३ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा शुभकामना दिएको छ। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति निकाल्दै नेपाललाई शुभकामना दिएको हो।
विज्ञप्तिमा नेपाल र अमेरिकाबीचको करिब आठ दशक लामो कूटनीतिक सम्बन्धको स्मरण गरिएको छ। आगामी दिनमा व्यापार, नवप्रवर्तन र लगानीको क्षेत्रमा दुई देशबीचको साझेदारी अझै बलियो बनाउने अमेरिकाले बताएको छ।
साथै, अमेरिकाले हालै भोटेकोसी नदीमा आएको बाढीपहिरोबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र प्रभावित परिवारलाई समवेदना प्रकट गरेको छ। यो दुःखको घडीमा नेपालको साथमा रहेको बताउँदै अमेरिकाले खोज, उद्धार र पुनःस्थापनाको काममा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।