‘गण्डकी गीत’बाट विक्रमबाबुले जिते सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड
- ०३ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- गायक तथा सर्जक विक्रमबाबु विश्वकर्माले ‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ मा सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड जितेका छन्। उनले आफ्नो चर्चित गीत ‘गण्डकी गीत’का लागि यो अवार्ड पाएका हुन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले आयोजना गरेको अवार्ड कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट सर्जक र कलाकारलाई सम्मान गरिएको थियो। कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
गुल्मीमा जन्मेर बुटवल हुँदै अहिले काठमाडौंलाई कर्मथलो बनाएका विक्रमबाबुका ‘नन्दनी’, ‘लौन नि भैया’, ‘डोरी बाटेर’, ‘देउन त्यो मन’ लगायतका थुप्रै गीत चर्चित छन्। लोकदोहोरी मात्र नभएर आधुनिक शैलीका गीतमा पनि उनले आफ्नो सिर्जना पस्किएका छन्। सरल विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गर्न सिपालु विक्रमबाबुको सांगीतिक यात्रामा यो अवार्ड एउटा महत्त्वपूर्ण उपलब्धि बनेको छ।