३० अशोज २०८३, शुक्रबार
16 October 2026, Friday

ममता काफ्ले प्रकरणमा नरेशको बयान बाझियो, प्रहरी अनुसन्धानमा नयाँ तथ्य

ममता काफ्ले प्रकरणमा नरेशको बयान बाझियो, प्रहरी अनुसन्धानमा नयाँ तथ्य

न्युयोर्क- पत्नी ममता काफ्लेको हत्या आरोपमा पक्राउ परेका नरेश भट्टको बयान प्रहरी अनुसन्धानका क्रममा पटक-पटक बाझिएको खुलेको छ। अदालतमा प्रस्तुत गरिएको भिडियो प्रमाणअनुसार, अनुसन्धानको सुरुवाती चरणमा नरेशले प्रहरीलाई निरन्तर फरक-फरक जानकारी दिएका थिए।

ममतालाई अन्तिम पटक देख्दा उनले के लगाएकी थिइन् भन्ने प्रश्नमा नरेशले केही मिनेटभित्रै तीन थरी जवाफ दिए। उनले सुरुमा निलो पोसाक लगाएको बताए, त्यसपछि आफूलाई थाहा नभएको भने र अन्त्यमा टिसर्ट, पाइन्ट र भान्सामा लगाउने कपडा लगाएको बताए। हराएको भनिएको दिनको बारेमा पनि उनले कहिले दिनभर सँगै घरमा रहेको, कहिले आफू बच्चा लिएर पसल गएको र कहिले ममता सागपात खोज्न बाहिर निस्किएको भन्दै फरक-फरक कुरा गरे।

बचाउ पक्षका वकिलले भाषा नबुझेका कारण बयान बाझिएको दाबी गरे। तर नरेशले अदालतमा कुरा बुझ्नको लागि उपलब्ध गराइएको नेपाली अनुवाद सुन्ने साधन भने प्रयोग गरेका छैनन्।

ममताका साथी सरिता न्यौपानेले बेपत्ता हुनुभन्दा ५ महिनाअघि नरेशले ममतालाई कुटपिट गरेको अदालतमा बताइन्। तर, नरेशले भने प्रहरीसँगको कुराकानीमा आफूहरुबीच कहिल्यै हात हालाहाल नभएको दाबी गरेका छन्। उनले ममता कुनै आपराधिक समूहको फन्दामा परेको वा कतै लुकेर बसेको हुन सक्ने शंका प्रहरीसँग व्यक्त गरेका थिए।

अनुसन्धानका क्रममा प्रहरीले उनीहरुको घरमा विशेष रसायन प्रयोग गरेर खानतलासी गर्दा सुत्ने कोठा र स्नानकक्षमा रगतको डोब फेला पारेको थियो। बत्ती निभाएर हेर्दा कोठा पूरै उज्यालो देखिएको अनुसन्धानमा खटिएका प्रहरीले बताएका छन्।

ममताकी अर्की साथी सुनिता भण्डारीका अनुसार नरेशले सुरुमा ममता हराएको कुरा लुकाएका थिए र उनीहरु छुट्टिएर बसेको बताएका थिए। ममतासँग आफ्नै गाडी नभएको र उनी सधैँ भाडाको गाडी चढेर काममा जाने गरेको उनका सहकर्मीले अदालतमा खुलाएका छन्।