३० अशोज २०८३, शुक्रबार
16 October 2026, Friday

ममता काफ्ले हत्या प्रकरण: नरेश भट्टविरुद्ध अदालतमा रगत र कारको डाटा प्रमाणका रूपमा पेस

ममता काफ्ले हत्या प्रकरण: नरेश भट्टविरुद्ध अदालतमा रगत र कारको डाटा प्रमाणका रूपमा पेस

न्युयोर्क- भर्जिनियामा आफ्नी पत्नी ममता काफ्लेको हत्या गरी शव लुकाएको आरोप लागेका नरेश भट्टको मुद्दामा बिहीबारदेखि अदालतमा पुनः सुनुवाइ सुरु भएको छ। बुधबारको सुनुवाइमा निर्णायक मण्डललाई रगतको सम्भावित प्रमाण र अन्य दृश्यहरू देखाइएको छ। अभियोजकहरूले नरेशविरुद्धको मुद्दालाई थप बलियो बनाउँदै लगेका छन्।

पूर्व फरेन्सिक अनुसन्धानकर्ताले भट्ट दम्पतीको घरबाट संकलन गरिएका प्रमाणबारे अदालतमा गवाही दिएका छन्। मुख्य सुत्ने कोठाको गलैँचामा रगत पत्ता लगाउने रसायन प्रयोग गर्दा देखिएको प्रतिक्रिया र स्नानगृहको झ्यालमा भेटिएको खैरो तथा रातो दागको नमुना अदालतमा पेस गरिएको छ। यसका साथै बाँध्ने तार, सरसफाइका सामान, ममताको पर्स र त्यसमा रहेका तीनवटा बैंक कार्ड पनि प्रमाणका रूपमा प्रस्तुत गरिएका छन्। अधिकारीहरूले नरेशको मोबाइल फोनको रेकर्ड र उनको विद्युतीय कारसँग जोडिएको डाटा पनि देखाउन सुरु गरेका छन्।

गत अगस्टदेखि हिरासतमा रहेका नरेशमाथि योजनाबद्ध हत्या, शव लुकाएको र शवको अपमान गरेको गम्भीर आरोप लागेको छ। ममता गत अगस्ट १ मा आफ्नो अस्पतालको काममा उपस्थित नभएपछि यो घटना बाहिर आएको थियो। लगातार दुई दिनसम्म उनी काममा नआएपछि सहकर्मीहरूले प्रहरीलाई उनीहरूको घरमा अवस्था बुझ्न पठाएका थिए।

सुरुमा नरेशले प्रहरीलाई ममताले सम्बन्धविच्छेदको कुरा गर्दै बेपत्ता हुने धम्की दिएको र उनलाई अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए। तर, परिवारले ममताले आफ्नो सानो बच्चालाई छोडेर जानै नसक्ने बताएपछि प्रहरीले अगस्ट ५ मा उनलाई बेपत्ता घोषणा गरेको थियो। घरको सुत्ने कोठा र स्नानगृहमा रगतको ठूलो दाग भेटिएपछि नरेशलाई अगस्ट २२ मा पक्राउ गरिएको थियो। अनुसन्धानकर्ताहरूले घरबाट कपालको टुक्रासहितको विद्युतीय करौती बरामद गरेका थिए भने नरेश विभिन्न फोहोर व्यवस्थापन स्थलहरूमा पुगेको प्रमाण पनि जुटाएका थिए। यद्यपि, ममताको शव अहिलेसम्म फेला पर्न सकेको छैन।