३० अशोज २०८३, शुक्रबार
16 October 2026, Friday

अदालतमा पत्रकारदेखि अनुसन्धान अधिकारीसम्मको बयान, ममता प्रकरण थप गहिरिँदै

अदालतमा पत्रकारदेखि अनुसन्धान अधिकारीसम्मको बयान, ममता प्रकरण थप गहिरिँदै

न्युयोर्क- श्रीमती ममता काफ्लेको हत्या आरोप खेपिरहेका नरेश भट्टको मुद्दामा अदालतमा सुनुवाइ जारी छ। बुधबारको बहसमा बयान दिँदै अपराध अनुसन्धान अधिकारीले नरेशको घरमा रगतका डोब र अन्य शंकास्पद सामानहरु भेटिएको बताए।

अनुसन्धान अधिकारी एन्ड्रिया फेल्डम्यानले घरको मुख्य बाथरुम र सुत्ने कोठामा रगत जस्तो देखिने दाग भेटिएको बताइन्। उनका अनुसार सफा गरिसकेको रगत पनि पत्ता लगाउने विशेष प्रविधि प्रयोग गर्दा नुहाउने ठाउँ, बाथटब र भुइँको कार्पेटमा रगत रहेको संकेत मिलेको थियो। अनुसन्धान टोलीले घरबाट बाँध्न प्रयोग हुने तार (जिप टाई), दाग हटाउने झोल, भान्सामा चारवटा चक्कु र दराजभित्र स्विच अफ गरिएको अवस्थामा एउटा मोबाइल फोन बरामद गरेको उनले खुलाइन्। साथै, टिभी राख्ने दराजभित्र ममताको नाममा रहेका तीनवटा बैंक कार्डसहितको गुलाबी पर्स पनि भेटिएको थियो।

अदालतमा पत्रकार सच्ची मैनालीले पनि बयान दिइन्। उनले लिएको भिडियो अन्तर्वार्तामा नरेशले समयमै श्रीमती हराएको प्रहरीमा उजुरी नगरेको विषयमा सोधिएका प्रश्नको प्रष्ट जवाफ दिएका थिएनन्।

त्यसैगरी, टेलिफोन कम्पनीका प्रतिनिधिले ममताको फोनबाट अन्तिम कल जुलाई २९ मा भएको अदालतलाई जानकारी दिए। जबकी नरेशले जुलाई ३१ मा ममतालाई अन्तिम पटक देखेको दाबी गर्दै आएका छन्। ममता अझै बेपत्ता छिन् र उनको शव फेला परेको छैन।