२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो : सभापति देउवा

खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो : सभापति देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताएका हुन।

पार्टी कार्यालय सानेमामा आइतबार आयोजित कार्यक्रमबिच नेपाली कांग्रेसका सभापति देउवाले पलेशालाई पाँच लाख, प्रशिक्षक नेगी लामालाई एक लाख ५० हजार र पारा ओलम्पिकमा सहभागी अर्का खेलाडी भरतसिंह महतालाई ५० हजार रुपियाँ पुरस्कार र सम्मान पत्र प्रदान गरे ।

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी हुन।

सभापति देउवाले खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको सम्मान गर्न सक्नुपर्ने बताए । उनले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गरे। सभापति देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवर्द्धनको प्रशंसा गरे।

उनले भने, ‘‘पलेशा गोवर्द्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई कांस्य पदक जिताउनुभयो।   जिताउन सफल हुनुभएकोमा सबै नेपालीको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट हार्दिक बधाई।   भोलिका दिनमा अझ बढी पदक प्राप्त गर्ने सफलता मिलोस्। नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको छ।   त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडीहरूले अझ बढी सफलता प्राप्त गरुन् भन्ने हार्दिक कामना गर्दछु ।  खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव सहयोग गरिरहेको छ।   आगामी दिनमा पनि अझ सशक्त ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।   खेलाडीहरू राष्ट्रका गहना हुन् ।  नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्छ। ’’

यसैगरी सम्मान कार्यक्रमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न उनीहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने बताए । उनले नेपालमा खेलकुदको सम्भावना बढी रहेको भएपनि खेलाडीहरु विदेश पलायन भइरहेको अवस्था रहेको बताए।

उनले १३औँ सागमा सहभागी २०७ जना खेलाडीमध्ये सय बढी खेलाडीहरु विदेश पलायन रहेको जानकारी आफूले पाएको पनि बताए । उनले खेलाडीलाई देशमा सुविधा दिनसके देशमै रहने वातावरण बन्ने बताए। सबैले खेलकुदलाई बढी प्राथमिकता दिन आग्रह गरे।

उनले भने, ‘‘नेपालमा खेलकुदको सम्भावना बढी छ । धेरै खेलाडी विदेश पलायन भइसकेका छन् । हिजो अस्तिमात्रै पत्रिकामा १३औँ सागमा २०७ जनामा एक सय खेलाडी विदेश पलायन भइसकेको बताएका छन् । धेरै खेलाडीहरु विदेश पलायन भएकाले तीन कुरामा मात्रै खेलाडीलाई यो देशमा सुविधा दिनसक्यो भने पक्कै पनि खेलाडीहरु देशमै रहने वातावरण बन्छ ।’’

उनले भने, ‘‘खेलाडीहरुको छोराछोरीको शिक्षादिक्षा राम्रो हुन सक्नुपर्छ । त्यो व्यवस्था हामीले गर्नुपर्छ । उहाँहरुलाई रोजगारी दिनुपर्छ । आर्मी, पुलिस र सशस्त्र बाहेकले रोजगारी दिन सकेको छैन । रोजगारी सिर्जना गरिदिनुहुन आग्रह गर्दछु । अर्को कुरा स्वास्थ्य हो । त्यो हुनसके हाम्रो देशमै खेलाडीहरु रहनेछन् र शिर उँचो राख्नेछन् । खेलकुदलाई बढी प्राथमिकता दिन आग्रह गर्दछु ।’’

मन्त्री चौधरीले सरकारले अहिले महत्वका साथ खेलकुद क्षेत्रलाई हेरिरहेको पनि बताए।