१९ कार्तिक २०८३, बिहिबार
5 November 2026, Thursday

चुनावी हारपछि पनि इरान नीतिका विषयमा पछि नहट्ने ट्रम्पको अडान

चुनावी हारपछि पनि इरान नीतिका विषयमा पछि नहट्ने ट्रम्पको अडान

वासिङ्टन- अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय भोगे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानको बचाउ गर्दै आफ्नो नीतिबाट पछि नहट्ने स्पष्ट पारेका छन् । बुधबार ह्वाइट हाउसले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनको तस्बिरसहित ‘कहिल्यै पछि नहट्ने’ सन्देश सार्वजनिक गर्दै यसको पुष्टि गरेको छ ।

कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटिक पार्टीले नियन्त्रण कायम गर्ने प्रक्षेपण भइरहेको बेला ट्रम्पले चुनावी नतिजाबारे प्रतिक्रिया दिएका हुन् । इरान युद्धका कारण छोटो समयका लागि पेट्रोलको मूल्य बढेको र त्यसले चुनावी परिणाममा प्रत्यक्ष असर पारेको उनले स्वीकार गरेका छन् । यद्यपि, इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नका लागि उक्त सैन्य अभियान अपरिहार्य रहेको उनको दाबी छ । साथै, आफू उम्मेदवार भएको भए रिपब्लिकन पार्टीले जित हासिल गर्ने दाबी गर्दै उनले चुनावी सभाहरूमा देखिएको आफ्नो लोकप्रियता अन्य उम्मेदवारमा सर्न नसकेको बताएका छन् ।

यता, उपराष्ट्रपति जेडी भान्सले भने आन्तरिक सर्वेक्षणलाई उद्धृत गर्दै इरान युद्ध नै रिपब्लिकन पार्टीको हारको मुख्य कारण भएको औँल्याएका छन् । भान्सका अनुसार इरान युद्धसँगै मुद्रास्फीति, ‘अमेरिका फर्स्ट’ नीति र इजरायलसँगको सम्बन्धलाई लिएर मतदाताहरूमा देखिएको असन्तुष्टि नै चुनावमा पराजयको कारण बनेको हो ।