३ अशोज २०८३, शनिबार
19 September 2026, Saturday

एनपीएलः लुम्बिनीलाई जनकपुरले दियो १३७ रनको लक्ष्य

एनपीएलः लुम्बिनीलाई जनकपुरले दियो १३७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आफ्नो चौथो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई जितका लागि १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन बनायो। जनकपुरका लागि कप्तान अनिल साहाको ४५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक लाहिरु मिलन्थाले २४ रन बनाउँदा आसिफ शेख १६ रनमा आउट भएका थिए।

लगातार तीन खेल जितेको जनकपुरले आजको खेलमा पनि राम्रो सुरुवात पाएको थियो। पहिलो विकेटका लगि ४८ रनको साझेदारी गरेको जनकपुर दोस्रो विकेटका लागि पनि ४७ रनको साझेदारी गर्न पुगेको थियो। तर त्यसपछि भने उसले मध्य क्रममा लगातार विकेट गुमायो।

उसले ९५ रनदेखि १ सय १० रनबिचमा १५ रन जोड्दा आफ्ना महत्त्वपूर्ण ६ विकेट गुमाएको थियो। यद्यपि, पछिल्लो क्रममा ब्याटिङका लागि आएका शुभ कंशकारले समालिएर खेल्दा टिमले मध्यम स्कोर बनायो। कंसकारले २२ रन बनाए।

जनकपुरविरुद्ध अभिषेक गौतमले १३ औं ओभरमानै ३ विकेट लिएका थिए। उनी बाहेक रोहित पौडैलले २ विकेट लिँदा साद बिन जफरले २ र सन्दीप जोराले १ विकेट लिए।