३१ जेष्ठ २०८३, आइतवार
14 June 2026, Sunday

हमासले शनिवार थप तीन बन्धक छाड्यो, मुक्त हुने सबै इजरेली पुरुष

हमासले शनिवार थप तीन बन्धक छाड्यो, मुक्त हुने सबै इजरेली पुरुष

न्युयोर्क- प्यालेस्टिनी समूह हमासले शनिवार गाजा स्ट्रीपबाट थप तीन जना इजरेली बन्धक मुक्त गरेको छ। युद्धविराम लागु भएपछिको पाँचौँ पटकमा छाडिएका उनीहरू सबै सर्वसाधारण मानिसहरू हुन्।

मुक्त भएका एली शराबी, ओहाद बेन अमी र अर लेभी सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको हमलाका बेला बन्धक बनाएर गाजा पुर्‍याइएका थिए। युद्धविराम सम्झौता अनुसार इजरेलले त्यसको बदलामा कैयौँ प्यालेस्टिनी बन्दीहरूलाई छाड्नेछ। हमासका अनुसार शनिवार थप १८३ जना प्यालेस्टिनीहरू छुट्नेछन्।

बन्धक मुक्त गर्नुअघि डेर अल-बलाहमा हमास लडाकुहरू जम्मा भएका थिए। त्यहाँ ती तीनजना बन्धकहरू रेड क्रसलाई बुझाएको थियो। गाजामा बन्धकहरू मुक्त गरिँदैगर्दा इजरेलको तेलअभिभस्थित होस्टेज स्क्वायरमा मानिसहरू जम्मा भएर उक्त प्रक्रिया हेरेका थिए।

ज्यानुअरी १९ मा इजरेल र हमासबीच युद्धविराम सम्झौता भएयता यससँगै २१ जना बन्धकहरू र ३८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भएका छन्। अबको तीन सातामा सकिने युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा झण्डै ३३ जना बन्धक र १,९०० प्यालेस्टिनीहरू छाडिनेछन्।
इजरेलले ३३ मध्ये आठजनाको मृत्यु भएको जनाएको छ।