८ कार्तिक २०८३, आइतवार
25 October 2026, Sunday

अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह उत्तरी भारतमा अवतरण

अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह उत्तरी भारतमा अवतरण

न्युयोर्क- एक सय १२ अवैध भारतीय आप्रवासी बोकेको एउटा अमेरिकी सैन्य विमान उत्तरी भारतीय सहर अमृतसरको विमानस्थलमा अवतरण गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको देशमा अवैध आप्रवासीहरू विरुद्धको अभियानको एक हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाबाट निर्वासित भारतीयहरूको यो तेस्रो समूह हो ।

अधिकारीहरूका अनुसार सी–१७ अमेरिकी सैन्य विमान आइतबार राति अमृतसर विमानस्थलमा अवतरण गरेको थियो ।

आप्रवासन, प्रमाणीकरण र पृष्ठभूमि जाँचसहित सबै औपचारिकता पूरा गरेपछि निर्वासितहरूलाई आफ्नो घर जान अनुमति दिइने अधिकारीहरूले बताए ।
शनिबार राति एउटा अमेरिकी सैन्य विमानले एक सय १६ भारतीय आप्रवासीलाई अमृतसर ल्याएको थियो । यसअघि फेब्रुअरी ५ मा एक सय चार भारतीयलाई संयुक्त राज्य अमेरिकाबाट फिर्ता पठाइएको थियो ।

दोस्रो पटक अमेरिकी राष्ट्रपतिको पद सम्हालेलगत्तै ट्रम्पले अवैध आप्रवासीहरू विरुद्ध व्यापक कारबाही सुरु गरेका छन्।

गत हप्ता संयुक्त राज्य अमेरिकामा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आफ्ना कुनै पनि नागरिकलाई फिर्ता लिने बताएका थिए ।