३१ जेष्ठ २०८३, आइतवार
14 June 2026, Sunday

मस्कलाई ज्यान मार्ने धम्की, १ जना पक्राउ

मस्कलाई ज्यान मार्ने धम्की, १ जना पक्राउ

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी तथा अर्बपति व्यवसायी एलोन मस्कलाई ज्यान मार्ने धम्की आएको छ ।

उनलाई ज्यान मार्ने धम्की दिने २८ वर्षीय डेभिड एलन जुन चेरी पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति इन्डियाना राज्यका हुन् । चेरीले सामाजिक सञ्जालमार्फत मस्कलाई मार्ने धम्की दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारमा जनाइए अनुसार अभियुक्तले समाजिक सञ्जाल एक्समा मस्कलाई हानि पुर्‍याउने धेरै ग्राफिक्सहरू सेयर गरेका थिए। एउटा पोस्टमा उनले लेखेका थिए, ‘तिमी (मस्क) अमेरिकी जनतालाई लुटिरहेका छौ। हामी तिम्रो आन्द्रा निकाल्नेछौं र तिम्रो लासलाई सडकमा घुमाउनेछौं।’

धम्कीपछि चेरीको खाता निलम्बन गरिएको छ। राष्ट्रपति ट्रम्पका सल्लाहकार र सरकारी दक्षता विभाग (डीओजीई)का प्रमुख रहेका मस्क बुधबार ट्रम्पको पहिलो मन्त्रिपरिषद् बैठकमा उपस्थित भएका थिए।

बैठकमा उनले आफूलाई प्राविधिक सहयोगीको रूपमा परिचय दिँदै भनेका थिए, ‘सरकारी कम्प्युटर प्रणाली सुधार गर्न कडा परिश्रम गरिरहेको छ।’ मस्कले उक्त कामका कारण आफूलाई ज्यान मार्ने धम्की आएको उल्लेख गरे ।