२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

न्यूयोर्कका गणित शिक्षकलाई बाल यौन दुर्व्यवहारसम्बन्धी योजनामा ७ वर्षको जेल सजाय

न्यूयोर्कका गणित शिक्षकलाई बाल यौन दुर्व्यवहारसम्बन्धी योजनामा ७ वर्षको जेल सजाय

न्यूयोर्क- ब्रुकलिनको एक प्रतिष्ठित निजी विद्यालयका पूर्व गणित शिक्षक तथा एकपटक ‘Jeopardy!’ को विजेता बनेका विन्स्टन गुयेनलाई ७ वर्षको जेल सजाय सुनाइएको छ। उनी स्न्यापच्याटमा किशोरको रूपमा नक्कल गर्दै नाबालिगहरूबाट नग्न तस्वीर र अश्लील भिडियो संकलन गर्ने योजनामा संलग्न रहेको आरोपमा दोषी ठहरिएका थिए।

३८ वर्षीय गुयेनले यस महिनाको सुरुवातमा “यौन उद्देश्यले बालकको प्रयोग” सम्बन्धी एउटा गम्भीर अपराध तथा “बाल सुरक्षामा खतरास्वरूप कार्य” गरेको पाँच आरोप स्वीकार गरेका थिए। जेलबाट छुटेपछि उनलाई यौन अपराधीको रूपमा दर्ता गरिनुपर्नेछ।

न्यायाधीशका अनुसार, गुयेनले ब्रुकलिन हाइट्सको प्रतिष्ठित “सेंट एन्स स्कूल” मा पढाउँदा स्न्यापच्याटमा किशोरको नक्कल गरेका थिए। उनले नाबालिगहरूलाई नग्न तस्वीर तथा भिडियो पठाएका थिए र उनीहरूलाई पनि यस्तै सामाग्री पठाउन बाध्य पारेका थिए।

पीडितहरू न्यूयोर्क शहरका विभिन्न विद्यालयका विद्यार्थीहरू थिए, जसको उमेर १३ देखि १५ वर्ष बीचको थियो।

“यो एउटा घृणास्पद विश्वासघात हो, जहाँ एक शिक्षकले आफ्ना विद्यार्थीहरूलाई नग्न तस्वीर पठाउन बाध्य पारे,” ब्रुकलिन जिल्ला महान्यायाधिवक्ता एरिक गोन्जालेजले भने।

गुयेनका वकिल फ्र्याङ्क रोथम्यानले भने, “मेरा क्लाइन्टले आज आफ्नो कार्यप्रति गहिरो पश्चात्ताप व्यक्त गरेका छन्। उनले पीडित परिवारहरूका लागि आवश्यक पुनर्स्थापनात्मक प्रक्रिया अपनाउन इच्छुक रहेको बताए। तर, उनलाई थाहा छ कि यस्तो सम्भव नहुन सक्छ।”

गुयेन २०१४ मा ‘Jeopardy!’ कार्यक्रममा प्रतिस्पर्धा गरेका थिए।