७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

मनाङ र चीन बोर्डर ‘फू’ गाउँमा सशस्त्रको क्याम्प राखिने

मनाङ र चीन बोर्डर ‘फू’ गाउँमा सशस्त्रको क्याम्प राखिने

मनाङ- हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिने भएको छ। सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिकामा बीओपी स्थापना गरिने भएको हो।

नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बीओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा बीओपी स्थापना गर्न लागिएको हो।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सीमामा सहजता र सुरक्षाका लागि बीओपी स्थापना गर्न लागिएको बताए। उनले बीओपी स्थापनाका लागि २० रोपनी जग्गा दीर्घकालीन रुपमा भाडामा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको जानकारी दिए। सरकारी जग्गा आवश्यकता अनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी भाडामा जग्गा उपलब्ध गराइएको प्रजिअ आचार्यले बताए।

जग्गा भाडाको प्रमाणपत्र सशस्त्र प्रहरी बल नम्ब। ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीलाई एक कार्यक्रमबीच बिहीबार हस्तान्तरण गरिएको छ। ‘फू क्षेत्र मनाङको विकट क्षेत्र हो। हालसम्म सडक सञ्जाल समेत नपुगेकाले बिओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण प्रभावकारी हुने अपेक्षा गरिएको छ’, प्रजिअ आचार्यले भने।

बीओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी खटाइनेछ। प्रजिअ आचार्यले नार्पाभूमि गाउँपालिकासँग समन्वय गरेर अघि बढ्ने र जतिसक्दो छिटो बीओपी राखिने बताए।