३१ जेष्ठ २०८३, आइतवार
14 June 2026, Sunday

अमेरिकी सहायताको अचानक फिर्ताले लाखौँको जीवन जोखिममा : युएनएड्स प्रमुख

अमेरिकी सहायताको अचानक फिर्ताले लाखौँको जीवन जोखिममा : युएनएड्स प्रमुख

युएनएड्स प्रमुख विनी ब्यान्यिमाले सोमबार अमेरिकी विदेशी सहायता कोषको अचानक रोकावट ‘विनाशकारी’ भएको बताएकी छन् । उनले थप कोष बिना लाखौँ मानिस मर्ने र विश्वव्यापी एड्स महामारी पुनः फैलिने चेतावनी दिएकी छन् ।

संयुक्त राज्य अमेरिका ऐतिहासिकरूपमा मानवीय सहायताको विश्वकै सबैभन्दा ठूलो दाता रहेको तर राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिनाअघि ह्वाइट हाउस फर्केपछि अन्तर्राष्ट्रिय सहायता कटौती गरेका थिए ।

‘संयुक्त राज्य अमेरिकाले समय–समयमा आफ्नो कोष घटाउन चाहनु उचित छ । तर, जीवन बचाउने समर्थनको अचानक फिर्ताले विनाशकारी प्रभाव पारिरहेको छ’, युएनएड्सकी कार्यकारी निर्देशक ब्यान्यिमाले जेनेभामा पत्रकारलाई भनिन्, ‘हामी पुनर्विचार र जीवन रक्षा गर्ने सेवाहरूको आकस्मिक पुनःस्थापनाका लागि आग्रह गर्दछौँ ।’

उनले थप कोषबिना आगामी चार वर्षमा थप ६३ लाख एड्स–सम्बन्धित मृत्यु हुने चेतावनी दिइन् । पछिल्लो गणनाअनुसार सन् २०२३ मा लगभग छ लाख एड्स–सम्बन्धित मृत्युहरू विश्वव्यापी रूपमा दर्ता गरिएको उनले बताइन् ।

त्यसै समयमा ब्यान्यिमाले उनको एजेन्सीले ‘थप ८७ लाख नयाँ सङ्क्रमण’ देख्ने अपेक्षा गरेको बताइन् । “तपाईं पछिल्लो २५ वर्षमा हामीले हासिल गरेका लाभहरू गुमाउने कुरा गर्दै हुनुहुन्छ । यो धेरै गम्भीर छ”, उनले भनिन् ।

“आगामी चार वर्षभन्दा पनि अघि हेर्दा यदि सहायता कोष पुनःस्थापित नभएमा लामो अवधिमा हामी एड्स महामारी पुनः फैलिएको र विश्वव्यापी रूपमा पुनः फैलिएको देख्नेछौँ”, ब्यान्यिमाले भनिन्, “यो अहिले केन्द्रित भएका देशहरूमा मात्र होइन, अफ्रिकाका कम आय भएका देशहरूमा मात्र होइन, तर पूर्वी युरोप, ल्याटिन अमेरिकामा हामी मुख्य जनसङ्ख्या भन्ने समूहहरूमा पनि बढिरहेको छ । हामी यस रोगमा वास्तविक वृद्धि देख्नेछौँ । हामी यसलाई फिर्ता आएको देख्नेछौँ र हामीले मानिसहरूलाई सन् १९९० र २००० को दशकमा देखेको जस्तै मरेको देख्नेछौँ ।”