२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

लस एन्जलसका हराइरहेका दमकलकर्मीको शव लङ्ग बीच तटमा फेला

लस एन्जलसका हराइरहेका दमकलकर्मीको शव लङ्ग बीच तटमा फेला

न्युयोर्क- लस एन्जलसका एक हराइरहेका दमकलकर्मीको शव झण्डै चार महिनापछि लङ्ग बीच तटको पानीमा फेला परेको छ।

लस एन्जलस दमकल विभाग (LAFD) का २९ वर्षीय कर्मचारी कोन्नर जे. लीस गत डिसेम्बर ४ मा अफ-ड्युटी रहँदा लङ्ग बीच बन्दरगाह नजिक डाइभिङ गर्दा बेपत्ता भएका थिए। उनलाई खोज्न तत्काल खोज तथा उद्धार अभियान थालिएको थियो, तर दुई दिनपछि डिसेम्बर ६ मा अपरेशन बन्द गर्दै उनलाई ‘समुद्रमा हराएको’ घोषणा गरिएको थियो।

लस एन्जलस दमकल विभागका अनुसार स्थानीय सुरक्षा निकायले मार्च २६ मा उनको शव लङ्ग बीचको पानीबाट फेला पारेको हो।

लस एन्जलस सिटी फायर चिफ क्रिस्टिन क्राउलीका अनुसार लीस आफ्नो दिन छुट्टीमा रहँदा साथीहरूसँग रमाइलो डाइभिङ गरिरहेका थिए। घटनाका बेला उनी कुनै आधिकारिक दमकल सेवा कार्यमा संलग्न थिएनन्।

छ वर्षदेखि दमकल विभागमा कार्यरत लीस फायर स्टेसन ९४ को बी पल्टुनमा खटिएका थिए।

प्रहरीका अनुसार लीस आफूसँगै रहेका साथीहरूसँगै डाइभिङका लागि गएका थिए, तर घटनामा कुनै आपराधिक संलग्नता नरहेको अनुमान गरिएको छ।