क्यालिफोर्नियामा आप्रवासन छापा क्रममा छतबाट खसेका श्रमिकको मृत्यु
- ०१ साउन २०८२
- २ मिनेटको पढाई
क्यालिफोर्निया — क्यालिफोर्नियाको भेन्चुरा काउन्टीमा बिहीबार अमेरिकी आप्रवासन अधिकारीहरूले चलाएको छापाका क्रममा एक श्रमिकको छतबाट खसेर मृत्यु भएको छ।
उनी क्यामारिल्लोस्थित Glass House Farms मा काम गर्दै आएका थिए। ३० फिट उचाइबाट खसेका उनलाई तत्कालै भेन्चुरा काउन्टी मेडिकल सेन्टरमा लगिएको थियो। अस्पतालमा जीवनरक्षक उपकरणको सहारामा राखिए पनि उपचारको क्रममा उनको मृत्यु भएको परिवारले पुष्टि गरेको छ।
घटनापछि उनको भतिजीले सार्वजनिक वक्तव्य जारी गर्दै भनिन्, “उहाँको घाँटी, खप्पर भाँचिएको र धमनी च्यातिएको थियो। आज उहाँका पत्नी र आमा–बुबाले उनलाई विश्राम दिन निर्णय गर्नुभयो। उहाँ अब रहनुभएन।”
परिवारका अनुसार छापाको समयमा उनीसँग सम्पर्क विच्छेद भएपछि सुरुमा उनलाई आप्रवासन अधिकारीहरूले नियन्त्रणमा लिएको आशंका गरिएको थियो। तर केही घण्टापछि अस्पतालबाट फोन आएपछि मात्रै गम्भीर अवस्थाको जानकारी पाइएको हो।
अमेरिकी गृह सुरक्षा विभाग (DHS) ले Glass House Farms मा आप्रवासन र बालश्रमसम्बन्धी अनुसन्धानका लागि छापा चलाएको थियो। छापाका क्रममा करिब २०० जना आप्रवासीलाई नियन्त्रणमा लिइएको थियो।
संघीय अधिकारीहरूका अनुसार घटनाको अनुसन्धान जारी छ।
यसबीच, श्रमिक अधिकारको पैरवी गर्दै आएको United Farm Workers यूनियनले छापाको आलोचना गर्दै वक्तव्य जारी गरेको छ। वक्तव्यमा भनिएको छ, “कुनै पनि शहर, राज्य वा संघीय कानुनले जातीय पहिचानका आधारमा मानिसहरूलाई आतंकित पार्न अनुमति दिँदैन। यी छापाहरू तुरुन्त रोकिनुपर्छ।”
यूनियनका अनुसार केही अमेरिकी नागरिक श्रमिकहरूलाई समेत ८ घण्टासम्म हिरासतमा राखिएको थियो। उनीहरूलाई रिहा गर्नु अघि छापासम्बन्धी मोबाइलमा खिचिएका तस्वीर तथा भिडियो मेटाउन जबर्जस्ती गरिएको आरोप समेत लगाइएको छ।
प्राप्त विवरणअनुसार छापाका क्रममा अन्य चार जना घाइते भएका छन् भने तीनजनालाई घटनास्थलमै उपचार गरेर रिहा गरिएको हो।
मृतक श्रमिकको अन्त्येष्टि मेक्सिकोमा गरिने तयारी परिवारले गरिरहेको छ। उनलाई अस्पतालमा राखिएको केही दिनमै सहयोगका लागि अनलाइनमार्फत ३१ हजार अमेरिकी डलरभन्दा बढी रकम संकलन गरिएको छ।
ट्रम्प प्रशासनको दोस्रो कार्यकाल सुरू भएपछिको यो छापालाई अहिलेसम्मकै सबैभन्दा ठूलो आप्रवासन कारबाहीका रूपमा लिइएको छ।