ट्रम्प प्रशासनद्वारा न्यूयोर्क शहरविरुद्ध आप्रवासी नीतिको कारण देखाउँदै मुद्दा दायर
- १० साउन २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- ट्रम्प प्रशासनले न्यूयोर्क शहरका “स्यान्क्चुरी सिटी” नीतिहरूले संघीय आप्रवासन कानुनको कार्यान्वयनमा बाधा पुर्याएको भन्दै मुद्दा दायर गरेको छ। संघीय सरकारले पूर्वी न्यूयोर्क जिल्ला अदालतमा दायर मुद्दामा नगरप्रमुख एरिक एडम्स, सिटी काउन्सिल अध्यक्ष एड्रिएन एडम्स र प्रहरी आयुक्त जेसिका टिशलाई प्रतिवादी बनाएको छ।
न्यायमन्त्री पाम बोंडीले शहरले संघीय अधिकारीहरूसँग सहयोग नगरेर आपराधिक प्रवृत्तिका आप्रवासीहरूलाई खुला छोडेको आरोप लगाइन्। ट्रम्प प्रशासनले स्यान्क्चुरी नीतिहरू संविधानको सर्वोच्चता धारासँग विसङ्गत भएको दाबी गर्दै ती नीतिहरू अमान्य घोषणा गर्न अदालतसँग माग गरेको छ।
नगरप्रमुख एडम्सले हिंसात्मक आप्रवासीहरूविरुद्ध संघीय सरकारसँग सहकार्य गर्न तयार रहेको जनाउँदै सिटी काउन्सिललाई स्थानीय कानून पुनरावलोकन गर्न आग्रह गरेका छन्। तर काउन्सिलले उक्त अनुरोध अस्वीकार गरेको छ।
सिटी काउन्सिलका प्रवक्ताले भने स्यान्क्चुरी नीतिहरूले समुदायलाई सुरक्षित बनाएको र आप्रवासीहरूलाई अपराध रिपोर्ट गर्न सहज बनाएको बताएका छन्।
यो मुद्दा ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गर्ने उद्देश्यअनुसार न्यूयोर्क, इलिनोइस, शिकागो, लस एन्जलस लगायतका डेमोक्र्याटिक शहरहरूविरुद्ध चालेका अनेक कानुनी कदमहरूमध्ये एक हो।