७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

अमेरिकी व्यापार युद्धको छायामा चीनमा पुटिन–मोदी

अमेरिकी व्यापार युद्धको छायामा चीनमा पुटिन–मोदी

तिआन्जिन- चिनियाँ सहर तिआन्जिनमा भएको साङ्घाई कोअपरेसन अर्गनाइजेशन (एससीओ) को वार्षिक शिखर बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएका छन्। सात वर्षपछि पहिलोपटक चीन पुगेका मोदीले सम्मेलनअघि राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गरेका छन्।

भारतले रुसबाट तेल खरिद जारी राखेका कारण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत आयात शुल्क लगाएका छन्। यसैबीच युक्रेन युद्धका कारण पुटिन पश्चिमी प्रतिबन्धको दबाब झेलिरहेका छन्। यस्तो परिस्थितिमा हुने शिखर बैठकलाई अमेरिकी व्यापार युद्धको छायामा परेको ठानिएको छ।

बेइजिङ समर्थित एससीओमा पाकिस्तान, इरानसहित १० सदस्य राष्ट्र र १६ संवाद साझेदार/पर्यवेक्षक छन्। सन् २००१ मा पश्चिमी गठबन्धनहरूको प्रभावलाई चुनौती दिन गठित यो संगठनको यसपटकको बैठक अहिलेसम्मकै ठूलो मानिएको छ।

शहरभर विशेष सजावट, कडा सुरक्षा व्यवस्था र सार्वजनिक आवागमनमा नियन्त्रण गरिएको छ। स्थानीय बासिन्दा भने रातिको ‘लाइट शो’ र नेताहरूको मोटरकेड हेर्न ठूलो संख्यामा सडकमा निस्किएका छन्।