देउवा र प्रचण्ड निवासमा प्रवेश निषेध, आर्मी र आफन्तद्वारा सुरक्षा कडा
- २९ भदौ २०८२
- १ मिनेटको पढाई
काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का निवासमा मिडिया र सर्वसाधारण प्रवेशमा रोक लगाइएको छ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि देउवाको बुढानिलकण्ठस्थित निवासलाई अहिले जस्ताको पाताले तारबार लगाएर ढाकिएको छ। घटनास्थलमा नेपाली सेना तैनाथ गरिएको र केवल आफन्त तथा निकटस्थलाई मात्रै प्रवेश दिइएको कामदारहरूले बताएका छन्। उनीहरूको भनाइमा, आगजनीपछि भित्रका धेरै सामान जलेका छन् र बाँकी सामग्रीको संरक्षण भइरहेको छ।
तर, स्थानीयले भने पार्टीका कार्यकर्ताले ‘आफन्त’ र ‘सुरक्षा’ को नाममा प्रवेश रोकेर आफ्नै नियन्त्रणमा राखेको आरोप लगाएका छन्। आगलागीपश्चात् केही मानिसले ‘पैसा, सुनचाँदी’ भेटिन्छ कि भनेर नेताहरूका घरतर्फ धाउने क्रम रोकिएको छैन। सामाखुसी, महाजगञ्ज जस्ता ठाउँबाट समेत मानिसहरू ट्याक्सी बुक गरेर घटनास्थल हेर्न पुगेका छन्।
यस्तै, खुमलटारस्थित प्रचण्डको निवासमा पनि आफन्तहरूले गेट नै सिल गरेर सर्वसाधारणलाई प्रवेश निषेध गरेको स्थानीयवासीले बताएका छन्।
जेन–जी आन्दोलनमा १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि दोस्रो दिन आन्दोलनकारीहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र देउवालगायत शीर्ष नेताहरूका घरमा आक्रमण र आगजनी गरेका थिए।