२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण

अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण

काठमाडौं –  नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री नियुक्त गरेका खनालले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका हुन् ।

अर्थमन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’

‘मुलुकको भ्रष्टाचार पूरै अन्त्य हुनुपर्छ भन्ने युवाको माग हो । हाम्रो विगत अब स्मरणमा नआओस् । ठूलो गल्ती गर्नेहरू कारबाहीमा आउनै पर्छ । अब गल्ती गर्ने कुनै गुन्जायस छैन । जानेर त गर्नै भएन, नजानेर पनि गल्ती गर्ने छुट छैन । हामी सच्चिनै पर्छ । म आग्रह त्यै गर्छु । यो आवेशमा छैन । तपाईंहरूले यो बुझ्नु नै हुन्छ । गल्ती गरेपछि अब कर्मचारीले माया पाउदैनन् । यो यजेन्डा मेरो होइन, राष्ट्रको हो, मुलुकको भविष्यका लागि युवाको यो चाहना पूरा गर्ने हो ।’

अब सिंहदरबार सहित सार्वजनिक र अन्य सम्पत्तिको पुनर्निर्माणमा लाग्नु पर्ने उनले बताए । सार्वजनिक सम्पत्तिको बीमा नहुने भन्दै उनले धेरै खर्च सरकारले नै व्यहोर्नु पर्ने उनले बताए ।

सिंहदरवारमा आयोजित पदभार ग्रहण कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्याय, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल लगायत मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको छ ।