२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

सिंहदरबारको सत्ता फेरिएसँगै पुराना दलमा नेतृत्व फेर्ने दबाब

सिंहदरबारको सत्ता फेरिएसँगै पुराना दलमा नेतृत्व फेर्ने दबाब

न्युयोर्क- सिंहदरबारको सत्ता फेरिएसँगै नेपाली राजनीतिक दलभित्र नेतृत्व हस्तान्तरणको दबाब बढ्दै गएको छ। भदौ २३ र २४ गते युवाहरूको अगुवाइमा भएको भ्रष्टाचारविरोधी प्रदर्शनपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका शीर्ष नेताहरू जनआक्रोशको केन्द्र बनेका छन्। आन्दोलनका क्रममा दलका कार्यालय र नेताका निजी सम्पत्तिमासमेत तोडफोड र आगजनी भएपछि पार्टीभित्रै नेतृत्व फेर्ने बहस सुरु भएको छ।

नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा आक्रमणमा परी उपचाररत रहेकाले उपसभापति पूर्णबहादुर खड्काले काम सम्हालिरहेका छन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नयाँ पुस्ताबाट पार्टीलाई अगाडि लैजानुपर्ने धारणा राखेका छन् भने प्रदीप पौडेलले तत्काल राजीनामा र विशेष महाधिवेशनको माग गरेका छन्। विश्लेषकहरूका अनुसार आगामी निर्वाचनअघि नै कांग्रेसमा नेतृत्व हस्तान्तरण हुने सम्भावना बढी छ।

नेकपा एमालेमा पनि सुधार र पुनर्संरचनाको आवाज सुनिन थालेको छ। सचिव योगेश भट्टराईले पार्टीलाई युवामैत्री बनाउनुपर्ने धारणा राखे भने केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले ओलीसहित शीर्ष नेताहरूले स्थान खाली गर्नुपर्ने टिप्पणी गरेकी छन्। तर नेतृत्वविरुद्ध खुलेर बोल्न गाह्रो हुने वातावरणका कारण तत्काल परिवर्तन कठिन देखिएको विश्लेषण गरिन्छ।

माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनार्दन शर्माले चुनौती दिँदै आत्मसमीक्षा र पुनर्संरचनाको माग गरेका छन्। यद्यपि प्रचण्ड तीन दशकदेखि नेतृत्वमै रहेकाले वास्तविक परिवर्तन हुनेमा धेरैलाई शंका छ। मधेश केन्द्रित दलका नेताहरूले पनि परिवारवादको अन्त्य र नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवाज उठाइरहेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार जनआन्दोलनले पुराना नेताहरूको छवि जनतामाझ कमजोर बनाइदिएको छ। कांग्रेसमा तत्काल नेतृत्व परिवर्तनको सम्भावना भए पनि अन्य दलमा भने शीर्ष नेताहरूले पद नछोड्ने सम्भावना प्रबल छ। तर, चुनावअघि नेतृत्वमा नयाँ पुस्ता नआए दलहरूको अस्तित्व नै संकटमा पर्ने चेतावनी पनि विश्लेषकहरूले दिएका छन्।