२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

पत्रकार सुरक्षाबारे छलफल गर्ने तयारीमा मन्त्री खरेल

पत्रकार सुरक्षाबारे छलफल गर्ने तयारीमा मन्त्री खरेल

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूको पेसागत र भौतिक सुरक्षाबारे सम्बन्धित निकायसँग छलफल गर्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आज आयोजना गरेको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले गत चैत १५ गते तीनकुनेमा प्रदर्शन समाचार संकलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकको घटनासहित आन्दोलनमा घाइते वा मृत्यु भएका पत्रकारहरूको छानबिन हुने बताएका छन्।

यस वर्षको हेम–सुनिल पुरस्कार दिवंगत पत्रकार रजकलाई मरणोपरान्त प्रदान गरिएको छ। मन्त्री खरेलले “रजकका परिवारलाई न्याय दिलाउन गृह मन्त्रालयसँग छलफल गर्छु, प्रधानमन्त्रीलाई पनि जानकारी गराउँछु” भन्दै मन्त्रालय तत्पर रहेको उल्लेख गरे।

साथै उनले सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी)लाई स्वतन्त्र, व्यावसायिक र आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिंदै भने, “रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज गर्नु मात्र पिएसबी होइन, यसलाई जवाफदेही र व्यावसायिक संस्थान बनाउनु पर्छ।”

समारोहमा मन्त्रालयकी सचिव राधिका अर्यालले पनि स्व. रजकको परिवारलाई न्याय दिलाउन मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।