२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

दसैँका लागि भक्तपुरमा च्याङ्ग्रा बिक्री, गत वर्षको तुलनामा मूल्य बढ्यो

दसैँका लागि भक्तपुरमा च्याङ्ग्रा बिक्री, गत वर्षको तुलनामा मूल्य बढ्यो

काठमाडौं – दसैँलाई लक्षित गरेर मुस्ताङ हुँदै ल्याइएका च्याङ्ग्रा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी चौरमा राखिएका छन्।

भक्तपुरसँगै काठमाडौं, ललितपुर, काभ्रे लगायतका क्षेत्रका बासिन्दा च्याङ्ग्रा खरिद गर्न त्यहाँ आउन थालेका छन्। व्यापारीहरूले यस वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु १,३००–१,३५० मा बिक्री गरिरहेका छन्। गत वर्ष प्रतिकिलो रु १,०५० मा बिक्री भएको थियो।

रामेछापका व्यापारी हिमलाल श्रेष्ठका अनुसार चीनबाट मुस्ताङसम्म ल्याइएका च्याङ्ग्रा नेपाली व्यापारीले प्रति गोटा रु ४०–४५ हजारमा खरिद गर्नुपरेकाले मूल्य बढेको हो। उनले भने, “सानो–ठूलो छुट्याउन नमिल्ने भएकाले एउटै मूल्य तिरेर गोटा गन्तीमा खरिद गर्नुपर्छ, तर यहाँ किलोमा बेच्नुपर्छ, जसले उपभोक्तालाई महँगो परेको छ।”

व्यापारी रमेश खड्काले पनि मुस्ताङमै बढी मूल्य तिर्नु परेको र विभिन्न ठाउँमा करिब रु ३० हजार कर तिर्नु परेको बताए। भक्तपुर नगरपालिका पनि सल्लाघारीमा बिक्री गर्न दिएको ठाउँबापत प्रति व्यापारी रु २५ हजार कर लिने गरेको उनले जानकारी दिए।