१०० भन्दा बढी महिलालाई रोजगारी दिने उद्योगलाई सस्तो कर्जा
- ११ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- १०० भन्दा बढी महिलालाई रोजगारी दिने र निर्यातमुखी उत्पादन गर्ने उद्योगले अब न्यूनतम ब्याजदरमा कर्जा पाउने भएका छन।
नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनअनुसार यस्तो उद्योगले आधारदरमा बढीमा १ प्रतिशत प्रिमियम मात्र थपेर कर्जा लिन सक्नेछन्।
जेनजी प्रदर्शनबाट प्रभावित उद्योग, व्यापार र कर्मचारीलाई तलब–भत्ता जस्ता सुविधाका लागि आधारदरमा बढीमा ०.५० प्रतिशत प्रिमियममा कर्जा दिने व्यवस्था गरिएको छ।
यसरी लिइएको कर्जामा ६ महिनासम्म २ प्रतिशत ब्याज अनुदान सरकारले दिनेछ। रोजगारी दिने संस्थाले पुस मसान्तभित्र आवेदन दिनुपर्नेछ।
त्यसैगरी, क्षतिग्रस्त सवारी साधन प्रतिस्थापन गर्न ८० प्रतिशत ऋण मूल्य अनुपातमा कर्जा पाउने र रसुवा–तातोपानी नाकामा अवरोधका कारण प्रभावित कर्जा पुनरतालिकीकरण गर्न सकिने व्यवस्था पनि मिलाइएको छ।