चाडपर्वका अवसरमा सावधानी अपनाउन एआइजी कार्कीको आग्रह
- १२ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले चाडपर्वको उमङ्गमा पनि सजग र जिम्मेवार बन्न सबैलाई आग्रह गरेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ उपत्यका प्रहरी कार्यालयको संयुक्त आयोजनामा आज आयोजित ‘ट्राफिक वाक’ तथा सुरक्षा सचेतना कार्यक्रममा उनले मादक पदार्थ सेवन गरी सवारी चलाउने परिपाटीले धेरैको अकालमा ज्यान गइरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरे ।
“मनोरञ्जनको पर्यायको रूपमा मादक पदार्थलाई लिनु कदापि उचित होइन,” भन्दै एआइजी कार्कीले नागरिकलाई ट्राफिक नियम पालना गर्न र प्रहरीलाई सहयोग गर्न अपिल गरे ।
उनका अनुसार सडकमा खटिएका ट्राफिक प्रहरी दुःख दिनका लागि नभई सुरक्षाका लागि खटिएका हुन्छन् । हरेक नागरिकले आफूले गर्ने व्यवहार र सिकोबाट आगामी पुस्तामा सकारात्मक प्रभाव पार्ने भएकाले जिम्मेवार सवारी सञ्चालनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले पनि चाडपर्वका बेला मदिरा वा लागुऔषध सेवन गरेर सवारी चलाउँदा हुने दुर्घटनाले नागरिकको ज्यान जोखिममा पर्ने बताए ।
“हामी तपाईंहरूको सुरक्षाका लागि खटिएका हौँ । कृपया चाडपर्वमा मादक पदार्थ सेवन गरेर गाडी नचलाउनुहोस्, कसैको घरको खुसी शोकमा नबदलियोस्,” उनले आग्रह गरे ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना र ट्राफिक सचेतना अभियन्ता डा. ओममूर्ति अनिलले पनि सुरक्षित र जिम्मेवार यातायातप्रति जोड दिए ।
ट्राफिक प्रहरी, जनपद प्रहरी र महानगर प्रहरीको टोलीले ‘सडक सुरक्षा हाम्रो जिम्मेवारी’, ‘मदिरा सेवनपछि सवारी नगर्नुहोस्’, ‘ट्राफिक नियमको पालना गरौँ’ जस्ता सन्देशसहित ट्राफिक ¥याली निकालेको थियो । रानीपोखरीबाट सुरु भएको र्याली विभिन्न स्थान परिक्रमा गर्दै रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समापन गरिएको थियो ।