२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

विपद्बाट क्षतिग्रस्त सडकको मर्मत कार्य तीव्र गतिमा गरिने

विपद्बाट क्षतिग्रस्त सडकको मर्मत कार्य तीव्र गतिमा गरिने

काठमाडौँ- ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द भएका सडक तत्काल खोल्ने र क्षतिग्रस्त सडकहरूको मर्मत कार्य तीव्र गतिमा अघि बढाइने बताएका छन्।

मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै घिसिङले भने, “पूर्व क्षेत्रमा अझै वर्षा भइरहेकाले सुधार कार्य केही ढिला सुरु हुन्छ, तर मौसम स्थिर हुनासाथ मर्मत तीव्र गतिमा हुन्छ।”

उनका अनुसार शुक्रबारदेखि निरन्तर परेको भारी वर्षाले देशका विभिन्न स्थानमा पहिरो र बाढी ल्याउँदै सडक अवरुद्ध गरेको छ। “प्रभावित क्षेत्रमा जनशक्ति र उपकरण परिचालन गरेर प्रमुख राजमार्ग खुलाउने काम दिनरात जारी छ,” उनले भने।

मन्त्री घिसिङले सरकारले अग्रिम तयारी गरेको कारण ठूलो मानवीय क्षति हुन नपाएको पनि बताए। सडक विभागका अनुसार काठमाडौँ–मुग्लिन हुँदै पोखरा र नारायणगढ जाने पृथ्वी राजमार्गमा अहिले यातायात सञ्चालनमा अवरोध छैन।

विभागका महानिर्देशक विजय जैसीले बिपी राजमार्ग (भकुण्डेबेंसी–नेपालथोक खण्ड) र मेची राजमार्गमा अवरोध हटाउने काम तीव्र गतिमा भइरहेको जानकारी दिए। उनका अनुसार विभागले स्थानीय प्रशासन, प्रहरी र स्थानीय निकायसँग मिलेर मर्मत तथा सडक खोल्ने कार्यलाई प्राथमिकतामा राखेको छ।