२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

पर्यटकको आकर्षण बनेको साल्पा-सिलिचुङ क्षेत्र

पर्यटकको आकर्षण बनेको साल्पा-सिलिचुङ क्षेत्र

काठमाडौं- भोजपुरको साल्पा–सिलिचुङ क्षेत्र पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको आकर्षण बनेको छ। मुन्दुम पदमार्गमा आउने पर्यटकहरूका लागि यो अनिवार्य गन्तव्यजस्तै बनेको छ।

समुद्री सतहदेखि ४,१५५ मिटर उचाइमा रहेको सिलिचुङ डाँडाबाट सगरमाथासहितका हिमशृङ्खलाको अद्भुत दृश्य देख्न सकिन्छ। चुचुरो चढेपछि वरिपरिका रमणीय दृश्यहरूले पर्यटकको मन लोभ्याउँछन्।

चुचुरोमुनि अवस्थित साल्पा पोखरी धार्मिक दृष्टिले निकै महत्वपूर्ण छ। भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ पूजा गर्छन्। यहाँ प्रत्येक वर्ष वैशाख, भदौ, कात्तिक र फागुन पूर्णिमामा मेला लाग्ने गर्छ, जसमा भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा र सोलुखुम्बुका भक्तजनहरूको ठूलो भीड लाग्छ।

किरात राई समुदायले यसलाई पुख्र्यौली भगवानको रूपमा पूजा गर्छन्। पोखरीको पानी समय–समयमा रङ परिवर्तन गर्ने विश्वासले पनि यसको रहस्यमयता बढाएको छ।

स्थानीय चन्द्र खत्रीका अनुसार, साल्पा–सिलिचुङ क्षेत्रलाई व्यवस्थित विकास र प्रचार गर्न सके यो ठाउँ ताप्लेजुङको पाथीभराजस्तै लोकप्रिय धार्मिक–पर्यटन केन्द्र बन्न सक्छ। सगरमाथा आरोहणका क्रममा तेन्जिङ हिलारीले यही पदमार्ग प्रयोग गरेको इतिहासले पनि यस क्षेत्रको महत्व झनै बढाएको छ।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक मूल्यले भरिएको साल्पा–सिलिचुङ अहिले पूर्वको प्रमुख धार्मिक–पर्यटन गन्तव्यका रूपमा चर्चामा छ।