२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

नेपालमा हरेक वर्ष ५० हजारभन्दा बढीलाई मस्तिष्कघात

नेपालमा हरेक वर्ष ५० हजारभन्दा बढीलाई मस्तिष्कघात

काठमाडौँ – नेपालमा हरेक वर्ष ५० हजारदेखि ६० हजारसम्म मानिस मस्तिष्कघातबाट प्रभावित हुने तथ्य आएको छ। नेपाल पक्षघात सङ्घका अनुसार करिब हरेक १० मिनेटमा एक जनामा मस्तिष्कघात देखिन्छ।

ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालका न्युरोलोजिस्ट डा. राजु पौडेलका अनुसार रक्तसञ्चार अचानक रोकिँदा मस्तिष्क अक्सिजन नपाउने र त्यसले ज्यान समेत जान सक्ने खतरा हुन्छ। “समयमै उपचार नपाए मस्तिष्क स्थायी रूपमा क्षति हुन सक्छ,” उनले भने।

सङ्घले सन् २०१७ देखि उपचार प्रणाली सुधारका काम गरिरहेको छ। भर्खरै विश्वका ५००भन्दा बढी चिकित्सक सहभागी ‘हिमालय अन्तरराष्ट्रिय मस्तिष्कघात सम्मेलन’काठमाडौंमा सम्पन्न भएको छ।

नेपालमा मस्तिष्कघात भएका मध्ये १५- २० प्रतिशतको मृत्यु हुने तथ्याङ्क छ। उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान र असन्तुलित जीवनपद्धति यसको प्रमुख कारण मानिन्छ।

अचानक बोली लरबराउनु, अनुहार बाङ्गिनु, हात–खुट्टा लुलो हुनुजस्ता लक्षण देखिए चार घण्टाभित्र अस्पताल पुग्न सके उपचार सम्भव हुने विशेषज्ञहरुको सुझाव छ।

अक्टोबर २९ मा नेपालभर ‘विश्व पक्षघात दिवस’ मनाइँदै छ।