६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

दक्षिण कोरियामा सीसँगको भेटपछि ट्रम्पद्वारा चीनमाथिको कर घटाउने घोषणा

दक्षिण कोरियामा सीसँगको भेटपछि ट्रम्पद्वारा चीनमाथिको कर घटाउने घोषणा

सियोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दक्षिण कोरियामा भएको भेटलाई ‘अत्यन्त सफल’ भन्दै चीनमाथि लगाइएको कर घटाउने घोषणा गरेका छन्।

गुरुवार भएको भेटपछि ट्रम्पले भने, “हामीले यस वर्ष चीनमाथि लगाएको कर २० प्रतिशतबाट १० मा घटाउँदैछौँ।” यो कदमपछि चीनमाथिको कुल कर दर ५७ बाट ४७ प्रतिशतमा झरेको उनले बताए।

ट्रम्पका अनुसार, बेइजिङले दुर्लभ पृथ्वी तत्वको निर्यात फेरि खोल्ने र अमेरिकी सोयाबिन खरिद सुरु गर्ने सहमति जनाएको छ। उनले यो वार्तालाई “१० मध्ये १२ अंकको सफलता” भन्दै खुसी व्यक्त गरे।

दक्षिण कोरियाको बुसानमा करिब डेढ घण्टा चलेको भेटपछि दुवै नेताले तनाव घटाउने र सहकार्य बढाउने प्रतिबद्धता जनाए। सीले पनि मतभेदका बाबजुद सहकार्य अपरिहार्य भएको बताए।

अघिल्लो हप्ता अमेरिकाले चीनमाथि थप १०० प्रतिशत आयात करको चेतावनी दिएको थियो। तर, पछिल्लो सहमतिपछि वातावरण सहज भएको विश्लेषकहरूको भनाइ छ।

ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने र सी पनि चाँडै अमेरिका आउने तयारीमा रहेको बताएका छन्।