६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

ओली–लेखकको राहदानी रोक्का विषयमा सर्वोच्चको लिखित जवाफ माग

ओली–लेखकको राहदानी रोक्का विषयमा सर्वोच्चको लिखित जवाफ माग

काठमाडौँ- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको राहदानी रोक्का र काठमाडौं बाहिर जान नपाउने निर्णयबारे सरकारसँग १५ दिनभित्र लिखित जवाफ मागेको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गर्दै सरकारसँग स्पष्टीकरण मागेको हो।

यो रिट अधिवक्ता डा. प्रेमराज सिलवालले कात्तिक १२ गते दायर गरेका थिए। उनले रिटमार्फत ओली र लेखकमाथि भएको निर्णयलाई गैरकानुनी भन्दै खारेज गर्न माग गरेका थिए। तर अदालतले अहिले अन्तरिम आदेश भने जारी गरेको छैन।

गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसपछि सरकारले उनीहरूको राहदानी रोक्का र स्थान हद तोक्ने निर्णय गरेको थियो।

आयोगले ओली र लेखकसँगै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको पनि राहदानी रोक्का गर्न सिफारिस गरेको थियो।