६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

अमेरिकाबाट ९० नेपाली एकै साथ देश निकाला: चार्टर्ड विमानबाट काठमाडौँ ल्याइयाे

अमेरिकाबाट ९० नेपाली एकै साथ देश निकाला: चार्टर्ड विमानबाट काठमाडौँ ल्याइयाे

काठमाडौं- अमेरिकाले गैरकानुनी रूपमा बसेका ९० जना नेपाली नागरिकलाई एकैपटक डिपोर्ट (देश निकाला) गरेको छ। अध्यागमन विभागका अनुसार उनीहरूलाई विशेष चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याएर छोडिएको हो। विभागका महानिर्देशक रामचन्द्र तिवारीले अहिलेसम्म यसरी अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ४०० नाघिसकेको बताएका छन्।

डिपोर्ट गरिएकाहरूमा आवश्यक कागजात नभएका, भिसा अवधि सकिएपछि पनि बसिरहेका र अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरू छन्। काठमाडौँ ओर्लिएलगत्तै उनीहरूलाई प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाइएको छ। ब्युरोले उनीहरू कोही कसैको प्रलोभनमा परेर वा बेचबिखनको माध्यमबाट त्यहाँ पुगेका हुन् कि भनेर अनुसन्धान गरिरहेको छ। यदि कोही पीडित भएको पाइएमा उजुरी दिन समेत ब्युरोले आग्रह गरेको छ। सबै प्रक्रिया र अनुसन्धान पूरा भएपछि मात्र उनीहरूलाई परिवारको जिम्मा लगाइनेछ।