मध्यपूर्वको युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित, कयौँ उडान रद्द
- ०७ चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं- मध्यपूर्वको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू नराम्ररी प्रभावित भएका छन्। विमानस्थल नागरिक उड्डयन कार्यालयले चैत ७ गतेका लागि तय गरिएका विभिन्न वायुसेवा कम्पनीका उडानहरू रद्द गरिएको जानकारी दिएको छ।
विशेषगरी काठमाडौंबाट दोहा, दुबई, कुवेत र दमाम जाने तथा ती सहरहरूबाट फर्कने उडानहरू पूर्ण रूपमा ठप्प भएका हुन्। रद्द भएका उडानहरूमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेज, फ्लाई दुबई, कुवेत एयरवेज र जजीरा एयरवेज रहेका छन्। मध्यपूर्वको आकाश असुरक्षित भएपछि उडानहरू ढिलाइ हुने वा रद्द हुने क्रम बढेको हो।
विमानस्थल कार्यालयले उडान प्रभावित भएका यात्रुहरूको व्यवस्थापनका लागि एयरलाइन्सहरूसँग समन्वय गरिरहेको जनाएको छ। यात्रुहरूलाई थप जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीको वेबसाइट हेर्न वा विमानस्थलको आधिकारिक नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।