२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

इरान युद्धको छायामा नेपालको औषधि आपूर्ति: अभाव र मूल्यवृद्धिको जोखिम

इरान युद्धको छायामा नेपालको औषधि आपूर्ति: अभाव र मूल्यवृद्धिको जोखिम

काठमाडौं- मध्यपूर्वमा जारी भीषण युद्धका कारण विश्वव्यापी आपूर्ति प्रणालीमा गम्भीर अवरोध सिर्जना भएपछि नेपालमा औषधिको अभाव हुन सक्ने चिन्ता बढेको छ। पेट्रोलियम पदार्थको उत्पादनसँगै निस्कने सह-उत्पादनहरू औषधिको कच्चा पदार्थका रूपमा प्रयोग हुने भएकाले इन्धन संकटको सिधै असर औषधि उद्योगहरूमा पर्न थालेको हो। नेपालमा सञ्चालित करिब ८० वटा औषधि उद्योगहरूले अहिले नै कच्चा पदार्थको अभाव र मूल्यवृद्धिको सामना गर्न थालिसकेका छन्।

नेपाल औषधि व्यवसायी संघका अनुसार विशेषगरी सलाइन र केही अत्यावश्यक एन्टिबायोटिक बनाउन चाहिने कच्चा पदार्थको आपूर्तिमा समस्या देखिएको छ। नेपालमा खपत हुने अधिकांश औषधि र कच्चा पदार्थ भारतबाट आयात हुने गर्दछ। तर, भारतका गुजरात र महाराष्ट्र जस्ता ठूला औद्योगिक क्षेत्रमा प्रोपेन ग्यासको चरम अभाव भएपछि त्यहाँका कैयौँ औषधि कम्पनीहरू आंशिक वा पूर्ण रूपमा बन्द हुन थालेका छन्। यसले गर्दा पारासिटामोल, भिटामिन र हर्मोनसँग सम्बन्धित औषधिको उत्पादनमा समेत विश्वव्यापी चाप परेको छ।

नेपालका औषधि उत्पादकहरूले सरकारको वर्तमान नीति उद्योगमैत्री नभएको गुनासो गरेका छन्। कच्चा पदार्थको मूल्य र ढुवानी खर्च अत्यधिक बढे पनि सरकारले वर्षौँदेखि औषधिको मूल्य एउटै राख्न बाध्य पारेको उनीहरूको भनाइ छ। औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने युद्धको असर नकार्न नसकिने भन्दै सम्भावित संकटको वस्तुनिष्ठ मूल्याङ्कन भइरहेको बताएका छन्। उद्योगहरूसँग केही महिना पुग्ने मौज्दात भए पनि युद्ध लम्बिएमा नेपालमा औषधिको गम्भीर संकट आउन सक्ने देखिन्छ।