मध्यपूर्वको तनाव: लाखौं नेपाली श्रमिकको रोजगारी र सुरक्षा जोखिममा
- १० चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- पश्चिम एसियामा बढ्दै गएको सैन्य तनावले त्यहाँ कार्यरत १७ लाखभन्दा बढी नेपाली श्रमिकको रोजगारी र सुरक्षा जोखिममा परेको छ। दैनिक करिब दुई हजार नेपाली रोजगारीका लागि जाने खाडी मुलुक र मध्यपूर्वका देशमा युद्ध चर्किएसँगै नेपालको वैदेशिक रोजगारी क्षेत्रमा गम्भीर असर पर्न थालेको हो।
श्रम विज्ञ डा. जीवन बानियाँका अनुसार युद्ध लम्बिँदै गए नयाँ कामदार जाने बाटो बन्द हुने र विदेशमा रहेका श्रमिकले समेत रोजगारी गुमाएर फर्किनुपर्ने अवस्था आउन सक्छ। अहिले हवाई उडान प्रभावित हुँदा र टिकट महँगो हुँदा स्वदेश फर्किन चाहने नेपालीहरु उतै रोकिएका छन्। सरकारको अनलाइन पोर्टलमा ८० हजारभन्दा बढीले फर्किन नाम दर्ता गराएकोमा करिब ७ हजार जना उच्च जोखिममा छन्।
श्रम विज्ञ रामेश्वर नेपालले रेमिट्यान्स रोकिँदा नेपालका लाखौं घरपरिवारको दैनिक जीवन प्रभावित हुने र महँगी बढेर गरिबी थप बढ्न सक्ने बताए। इन्धनको मूल्य वृद्धिले ढुवानी खर्च बढ्ने र समग्र अर्थतन्त्रमै नकारात्मक असर पर्ने उनको भनाइ छ।
अर्का विज्ञ डा. मिना पौडेलले अनौपचारिक माध्यमबाट गएका र विशेषगरी महिला घरेलु कामदार झन् ठूलो जोखिममा रहेको बताइन्। संकटको बेला दलाल र मानव तस्करहरु सक्रिय हुन सक्ने भन्दै उनले श्रमिकलाई सुरक्षित रहन र दूतावासको सम्पर्कमा बस्न सुझाव दिइन्। युद्धले गर्दा विदेश जाने बाटो साँघुरिँदा नेपालमै रोजगारीको अवसर खुम्चिएर बेरोजगारीको समस्या अझ विकराल बन्ने देखिएको छ।