२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अमेरिकी संस्थाको वरियतामा काठमाडौँ विश्वविद्यालय १२२ औँ स्थानमा

अमेरिकी संस्थाको वरियतामा काठमाडौँ विश्वविद्यालय १२२ औँ स्थानमा

काठमाडौं- अमेरिकाको एउटा संस्थाले निकालेको ‘एचई उच्च शिक्षा वरियता’ मा काठमाडौँ विश्वविद्यालय १२२ औँ स्थानमा पर्न सफल भएको छ। ९५ देशका ५०७ वटा विश्वविद्यालय सहभागी यस सूचीमा विश्वविद्यालयको शैक्षिक प्रभाव नाप्न विभिन्न २५ मापदण्ड र १३६ सूचक प्रयोग गरिएको थियो।

यो मूल्याङ्कनले विशेषगरी दक्षिण एसिया, दक्षिण अमेरिका र पूर्वी युरोपका विश्वविद्यालयको कार्यक्षमता जाँचेको थियो। सुविधा र स्रोतको व्यवस्थापन, शैक्षिक पारदर्शिता र भविष्यका योजनामा काठमाडौँ विश्वविद्यालयले राम्रो सम्भावना देखाएको प्रतिवेदनमा उल्लेख छ। यसका लागि समावेशिता, दिगो विकास, अनुसन्धान प्रणाली, क्याम्पसको सुरक्षा र प्रविधिको पहुँच जस्ता कुरालाई आधार मानिएको थियो।

वरियता निकाल्ने संस्थाकी सचिव नूरा अब्दुलजलीलले विश्वविद्यालयको नेतृत्व, प्राध्यापक, कर्मचारी र विद्यार्थीको सामूहिक प्रयासले यो सफलता मिलेको बताइन्। त्यसैगरी, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर हेमराज काफ्लेले यो प्रतिवेदनले विश्वविद्यालय कसरी चलिरहेको छ भन्ने महत्त्वपूर्ण जानकारी दिएको बताए। उनले यसबाट आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय वरियतामा भाग लिन आवश्यक तथ्याङ्क बलियो बनाउन मद्दत पुग्ने पनि स्पष्ट पारे।