२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई ५ दिन थुनामा राख्न अनुमति

एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौँ– जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार दुवै नेतालाई म्याद थपको अनुमति दिएको हो।

अदालतमा म्याद थपका लागि भएको बहसमा जिल्ला सरकारी वकिलको कार्यालयले १० दिनको समय माग गरेको थियो। तर, अदालतले ५ दिनको मात्र समय दिएको छ। अध्यक्ष ओली स्वास्थ्य अवस्थाका कारण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकाले उनलाई भिडियो कन्फेरेन्सको माध्यमबाट इजलासमा उपस्थित गराइएको थियो। कांग्रेस नेता लेखक भने आफैँ अदालतमा उपस्थित भएका थिए।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार बिहानै दुवै नेतालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमाथि गत भदौमा भएको ‘जेन–जी’ आन्दोलनमा बल प्रयोग गरी मानवीय क्षति पुर्‍याएको र दमन गरेको आरोप छ। सरकारले सोही प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा लिइएको हो।