२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

कम्बोडियामा ठगीमा परेका तीन नेपालीको उद्धार

कम्बोडियामा ठगीमा परेका तीन नेपालीको उद्धार

काठमाडौं- थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा बिनाभिसा बसेका तीन नेपालीको उद्धार गरेर स्वदेश फर्काएको छ। कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरूलाई शुक्रबार काठमाडौं ल्याइएको हो।

उद्धार गरिएका नेपालीहरू विभिन्न व्यक्तिको प्रलोभनमा परेर त्यहाँ पुगेका थिए। उनीहरूलाई त्यहाँ अवैध रूपमा चलाइएका अनलाइन ठगी केन्द्र, जुवाघर तथा अन्य गैरकानुनी काममा लगाइएको थियो। दूतावासले अलपत्र परेका अन्य नेपालीलाई पनि फर्काउने प्रयास भइरहेको बताएको छ।

कम्बोडियामा नेपालीहरूलाई गैरकानुनी काममा लगाइएको र उनीहरू बिनाभिसा बसिरहेको जानकारी पाएको दूतावासले उल्लेख गरेको छ। काम लगाउने कम्पनीले राहदानी खोस्ने वा हराइदिने गरेको गुनासो पनि आएको छ। यस्तो अवस्थामा नेपाल फर्किन दूतावासले निःशुल्क यात्रा अनुमतिपत्र दिने गरेको छ।

दूतावासले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ। कसैको प्रलोभनमा परेर छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड जस्ता देशमा नजान दूतावासले सबैलाई अनुरोध गरेको छ।