युद्धका कारण मध्यपूर्वबाट ३८ नेपालीको शव ल्याउन ढिलाइ
- २० चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं- परराष्ट्र मन्त्रालयले इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण मध्यपूर्वमा ज्यान गुमाएका ३८ जना नेपालीको शव स्वदेश ल्याउन ढिलाइ भएको बताएको छ। शुक्रबार मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले युद्धले उडान प्रभावित हुँदा शव ल्याउन समस्या भएको जानकारी दिए।
उनका अनुसार साउदी अरबको रियाद र जेद्दा, युएईको दुबई र आबुधाबी, इजरायलको तेल अभिभ, कतार, ओमान र बहराइनमा गरी ती शवहरू रोकिएका छन्। प्रवक्ता क्षेत्रीले मध्यपूर्वको युद्धमा परेर अहिलेसम्म एक जना नेपालीको मृत्यु भएको र २१ जना घाइते भएको पनि बताए। रोकिएका शवहरू नेपाल ल्याउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उनले प्रस्ट पारे।
संकटमा परेका नेपालीको विवरण संकलन र उद्धारका लागि बनाइएको इन्टरनेट प्रणालीमा अहिलेसम्म ८६ हजार ४ सय २० जनाले आफ्नो नाम दर्ता गराएका छन्। बिच बाटोमा अलपत्र परेका सबै नेपालीको व्यवस्थापन भइसकेको र असुरक्षित छु भनेर फोन गर्नेको संख्या पनि बिस्तारै घट्दै गएको मन्त्रालयले जनाएको छ।