२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

गृहमन्त्री सुधन गुरुङको कडा कदम: एक हप्तामै पूर्वप्रधानमन्त्री ओलीसहित १० जना पक्राउ

गृहमन्त्री सुधन गुरुङको कडा कदम: एक हप्तामै पूर्वप्रधानमन्त्री ओलीसहित १० जना पक्राउ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारमा चैत १३ गते गृहमन्त्री बनेका सुधन गुरुङले एक हप्तामै आक्रामक काम गरेर देखाएका छन्। उनले आफ्नो पहिलो हप्तामै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित १० जना चर्चित तथा उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गराएका छन्।

नियुक्ति भएकै दिन प्रहरी प्रमुखलाई ओली र लेखकलाई पक्राउ गर्न निर्देशन दिएका उनले भोलिपल्टै उनीहरूलाई पक्राउ गराए। यसैगरी, यो एक हप्तामा एमाले नेताहरू कर्ण मल्ल र रेखा शर्मा, पूर्वमन्त्री दीपक खड्का, काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल तथा व्यवसायीहरू दीपक भट्ट, राजकुमार अर्याल, शंकर अग्रवाल र सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको छ। अघिल्ला सरकारका पालामा रोकिएका अनुसन्धानहरू अघि बढाएर उनले धमाधम कारबाही थालेका हुन्।

मन्त्री बनेपछि गुरुङले सादा जीवनशैली देखाउने प्रयास गरिरहेका छन्। उनी सिंहदरबारको खाजाघरमा सर्वसाधारणसँगै खाने, तल्लो तहका प्रहरीको समस्या सुन्ने, पशुपतिनाथ मन्दिरमा सवारी व्यवस्थापन आफैँ गर्ने र आन्दोलनका घाइतेलाई घर तथा अस्पतालमै पुगेर भेट्ने जस्ता काममा सक्रिय छन्। विगतमा उनले दिएका केही अभिव्यक्तिका कारण उनी गृहमन्त्री बन्दा धेरैलाई अचम्म लागेको थियो। अहिले उनले कामबाटै जवाफ दिन खोजे पनि कतिपयले भने उनका कदमहरू कानुनविपरीत र पूर्वाग्रही भएको भन्दै आलोचना समेत गरेका छन्।