केपी ओली र रमेश लेखकको रिट सर्वोच्चमा ‘हेर्दाहेर्दै’मा
- २२ चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ। आइतबार न्यायाधीश विनोद शर्मा र सुनिल पोखरेलको इजलासमा सुनुवाइ नसकिएपछि मुद्दालाई सोमबार फेरि हेर्ने गरी राखिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।
जेनजी आन्दोलनका घटना छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले ओली र लेखकलाई चैत १४ गते पक्राउ गरेको थियो। उनीहरू अहिले प्रहरी हिरासतमै छन्।
पक्राउ गैरकानुनी भएको भन्दै ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोधा थापाले रिहाइको माग गर्दै चैत १५ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि चैत १६ गते सर्वोच्चले सरकारसँग कारण माग्दै आदेश दिएको थियो। सरकारको तर्फबाट लिखित जवाफ आएपछि आइतबार यसको सुनुवाइ अघि बढेको हो।
अर्कोतिर, प्रहरीले भने उनीहरूलाई अझै हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंसँग म्याद थपको माग गरेको छ। यसमा जिल्ला अदालतको आदेश आउन बाँकी छ।